भ्रमण वर्षका लागि गण्डकी प्रदेशबाट गायक सपूत र आरोही पूर्जा सद्भावना दूत

पोखरा, १८ पुष। गायक प्रकाश सपूत र आरोही निर्मल पूर्जा  गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सद्भावना दूतका रूपमा सपूत र पूर्जालाई नियुक्त गरेको हो।

गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए। भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए। सपूत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत हुन् ।

गायक सपूत अहिलेको नेपाली लोकसङ्गीत जगतमा सफल प्रतिभा हुन् । सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन् । केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ ।

डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो । प्रेदशमा प्रियजन गुमाउने परिवारको बेदनामा आधारित उक्त गीत ‘युट्युव ट्रेन्डिङ’ को १ नं मा आउन सफल भएको थियो । त्यसयता गायक सपूतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् ।

यस्तै, अर्का सद्भावना दूत म्याग्दी अन्नपुर्ण गाउँपालिका–३ दानाका पूर्जा एक सफल कीर्तिमानी आरोही हुन् । पूर्जाले ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल भएका थिए ।

यस्तै, १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान समेत राखेका उनले २०१७ मे २७ मा पाँच दिनमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर तीन वटा विधामा गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल भएका थिए ।

सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका पुर्जाले सन् २०१८ मा बेलायती महारानी एलिजाबेथबाट अर्डर अफ् द ब्रिटिस एम्पायर(एमबीई) अवार्ड समेत प्राप्त गरेका थिए।






Leave a Reply

Your email address will not be published. Required fields are marked *