पोखरा, २९ मंसिर । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता आज (आइतबार)बाट सरु हुँदै छ । पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ । खेल बिहान साँढे ११ बजे सुरु हुनेछ ।
शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले प्रतियोगिता एक दिनपछि सारिएको हो ।
साविक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ सहरका ६ टोलीको सहभागिता रहेको छ ।
नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।
‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन खेलाडीलाई टीभीएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।त्यसैगरी, प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
