सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ सार्वजनिक

पोखरा,१३ असोज । साहित्यकार सरुभक्तद्वारा लिखित उपन्यास ‘प्रतिगन्ध’ सार्वजनिक भएको छ। दशैंको अवसर पारेर आइतबार एक कार्यक्रमका बिच आख्यानकार त्रय तिर्थ गुरुङ, सरस्वती प्रतिक्षा र गनेस पौडेलले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरे ।

उपन्यासकार सरुभक्तले २०६१ मा तत्कालीन नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानबाट अमेरिका जाँदा २ महिना बस्दा देखेको नेपालीको अवस्थाले लेख्न घच्घच्याएको बताए । उनी भन्छन्,‘ २ महिनामा जति देखेँ, अध्ययन गरे त्यसपछि भिन्न खालको डायस्पोराको कथालाई लेख्नुपर्छ भन्ने सोच आयो, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भएपछि काठमाडौंको ४ वर्षे बसाइँमा प्रतिगन्ध लेखेको हुँ ।’

कार्यक्रममा बोल्दै पाठशाला उपन्यासका लेखक तिर्थ गुरुङले ‘प्रतिगन्ध’ अमेरिकी लाहुरेहरुको कथा भएको बताए । उनले भने, ‘अमेरिकन लाहुरेहरुको कथा व्यथा छ, प्रेम,संघर्ष, व्यक्तिगत जीवनमा आइपर्ने विखण्डन उपन्यासमा छ ।’

अर्की आख्यानकार सरस्वती प्रतीक्षाले प्रतिगन्ध उपन्यास पढ्दा एकै पटक ४/५ वटा उपन्यास पढेको भान हुने बताइन् । ‘यसमा ऐठनै ऐठन छन् । यो पढ्दा रमाइलो पाउनुहुन्न, आतंकवादमुन्तिर पिल्सिएको मरञ्च्याँसे मानवता पाउनुहुन्छ ।’ ‘नथिया’ उपन्यासकी उपन्यासकार तथा सरुभक्तकी छोरीका रूपमा समेत परिचित प्रतीक्षा भन्छिन् ‘प्रतिगन्धमा सहनशील, सुशील पुरुषको कथा पाइन्छ, नेपाली समाजको महिला दृष्टिबाट हेर्दा यो एउटा एन्टिथेसिस हो ।, यसमा प्रेम, घृणा, स्वर्थ, दर्शन र विचारहरुको सम्मश्रण कक्टेल पाइन्छ ।’

यस्तै, ‘पैताला’ उपन्यासका लेखक गनेस पौडेलले प्रतिगन्ध उपन्यास अमेरिकाको कुनै लेखकले लेखेको जस्तो अनुभुति हुने बताए । उनले भने,सरुभक्तले अमेरिकाको स्थान, रहनसहन र परिवेशलाई जुन ढंगले बर्णन गरेका छन्, प्रतिगन्ध कुनै नेपाल वा पोखराका लेखकले लेखेको हो भन्ने नै लाग्दैन ।’ सरुभक्तको शसक्त पक्ष प्रयोगधर्मिता उपन्यासमा पाइने उनको भनाइ थियो ।

कवि तीर्थ श्रेष्ठले सरुभक्त लेखकीय जीवन बाँच्ने व्यक्ति भएको बताए । ‘सरुभक्त खाँदा पनि लेखक नै भएर खान्छ, हिँड्दा पनि लेखक नै भएर हिँड्छ, सरुभक्त जहाँ, जस्तो अवस्थामा पनि लेखक हुन्छ ।’ उनी भन्छन्, ‘सरुभक्त विविधतासँग खेल्ने स्वभावका र सदाबहार क्रियाशील लेखक हो ।’

प्रकाशक बुक हिलका भूपेन्द्र खड्काले पोखरा सरुभक्तको सहरका रुपमा चिनिएको बताउँदै प्रतिगन्धले पोखरा र सिङ्गो नेपाली साहित्यलाई उँचो बनाउने विश्वास व्यक्त गरे ।

साहित्यकार सरुभक्तले ‘बन्द खामभित्र’ (२०३५) मुक्तक संग्रहबाट आफ्नो साहित्यको औपचारिक पाइला चालेका थिए । विभिन्न मुक्तक, नाटक, कविता हुँदै २०४४ सालमा ‘एक अविनवको आत्मकथा’ प्रकाशित गरी उपन्यासमा कलम चलाउन सुरु गरेका उनले २०४८ सालमा प्रकाशित दोस्रो उपन्यास ‘पागल बस्ती’ ले उनलाई मदन पुरस्कारसमेत दिलायो ।

उनका एक अविनवको आत्मकथा, समय त्रासदी, तरुनी खेती, बाल उपन्यास अँध्यारो कोठा र चुली गरी ६ उपन्यास प्रकाशित छन् । प्रतिगन्ध उनको सातौं उपन्यास हो । उनका विभिन्न विधामा झण्डै ५० कृति प्रकाशित छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *