रमाको ‘अन्तिम अभिलाशा’ सार्वजनिक


पोखरा, ११ चैत । भारतका लुधियानाको सम्पन्न परिवारमा जन्मिएकी साहित्यकार एवं पुस्तक व्यवसायी रमा पराशर सुद आफ्नो जीवनसाथीको सहयात्राका लागी आफ्नो मातृभुमी र आफन्त छाडेर नेपाल आएको ३० वर्ष भइसकेको छ । उनको जीवन साथीले छाडेर गएको पनि ११ वर्ष भइसकेको छ । आज उनका साथमा न त सहयात्री, न त सन्तान, न त आफन्त नै छ । उनी नेपाल आए देखि नै उनको माइती सँग सम्पर्कमा छैनन् । तर आफ्नो सतित्व, मर्यादा र पोखरेलीसँगको माया,आत्मियता भने सधैं उनी सँगै छ । उनी आफ्नो जीवनको भोगाई, साहस र क्षमता बाट आफ्ना कृतिगत सन्तान जन्माइरहन्छिन् । तिनै सन्तान मध्यको एक रुप हो ‘अन्तिम अभिलाशा’ ।

उनको ‘अन्तिम अभिलाशा’ आत्मकथा शोमबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङ र साहित्यकार चेतन कार्कीले लोकार्पण गरे ।
कृतिको मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो ।

उपकुलपति प्राडा गुरुङले एकल र विदेशी भूमीमा महिलाको यो प्रयासले धेरैलाई प्रेरण दिने बताए । उनले रमाको जीवनी,आदर्श र मर्यादाबाट सबैले प्रेरणा लिन सक्नु पर्ने समेत बताए । पुस्तकको अनुवाद गरेका चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीले रमाको कृति यथार्थपरक र प्रेरणदायी भएको बताए । रमाले हिन्दीमा लेखेको आत्मकथा कार्कीले अनुवाद गरेका हुन् ।

लेखक रमा पराशरले आफ्नो अन्तिम अभिलाषा सुन्दर पोखरामै बाँकी जीवन बिताउने भएको बताइन् । आज सम्म जे भोगेँ त्यही नै पुस्तकमा भएको समेत प्रष्ट्याइन् । उनको यसअघि पहिलो कृति ‘सुकून’ कविता सञ्चयन प्रकाशन भइसकेको छ । भने उनको ‘युही’ कविता संग्रह प्रकाशोन्मुख छ ।

त्यस्तै समिक्षक असफल गौतमले पुस्तकमा पोखरेलीको आत्मीयता छल्किएको बताए । कार्यक्रममा डागर स्मृति प्रतिष्ठानका सल्लाहकार धनराज आचार्य,मकालु प्रकाशनका प्रबन्ध निर्देशक वाशुदेव ढकाल, साहित्यकार तिर्थ श्रेष्ठ, लोकदोहोरी गायिका हरिदेवी कोइराला लगायतले बोलेका थिए ।

पुस्तक व्यवसायी संघका अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *