के सम्बन्ध छ ?


कविता

जब-जब म रुन्छु, तिमी पनि रुन्छौ,
पिडामा हुन्छु सायद तिमी पनि हुन्छौ
त्यसैले त मेरो फाटेको मन टाल्न नसक्दा…
सम्हालेर आफूलाई राख्न नसक्दा
तिमीले पनि त आफुलाई;
सम्हाल्न धौ:धौ परेको थियो
मनका धरहरामा जम्मा गरेर राखेको
मेरो माथिलिङ्गका कयौं भ्रुणलाई
एक्कासी अनिश्चित कम्पन आइ
थर्थरि कमाइ…….
मेरा भविष्यका लक्ष्यहरु गर्लम्म ढल्दा
तिमी पनि त बेस्करी कामेका थियौ,
तिम्रा सन्ततिको धरहरा त्यसरि नै ढलेका थिए,
सच्चै तिम्रा पनि कयौं भ्रुणहरु,
आकृतीहरु त्यसरिनै ढलेका थिए
ए… प्रकृती भनन तिम्रो र मेरो बिच;
के त्यस्तो सम्बन्ध छ ?
के त्यस्तो बन्धन छ ?
न त तिमीले सबै गाँठो फुकालेर भन्छौ,
न त मैले नै बुझ्न-बुझाउन सक्छु
तिमी खुला आकाशमा उजेली हुँदा
सच्चै म,मेरो मन तेस्तै हुन्छ
यो दुनियाँका काला मन देखि
मेरा अनुहार धमिलो बन्दा
तिमी सामु पनि गर्जि-गर्जिकन
काला बादल मडरी रहेको देख्छु
आँसु रोक्दा-रोक्दा डल्लो परेका तिम्रा
आँसुलाई असिनाको उपमा पायौ
तिमी जस्तै उपमाको धनी भाकी छु
तिम्रा चित्कार मेरो अनुभव जस्तो लाग्छ,
प्रकृती; तिम्रो माया हराएको हो ?
मेरा मनका गह्रा रित्तिए जस्तै
तिम्रो पनि गह्राहरु रित्तिएर हो ?
की झुठा र जुठा हरुको खेल मा पर्‍यौ?
किन प्रकृति, तिम्रो-मेरो पिडा उस्तै लाग्छ,
उ… नपत्याए हेर त उस्तै छ,
आज पनि मेरो र तिम्रो रुप
भनन… प्रकृती
के त्यस्तो सम्बन्ध छ ?
तिमी र म मा
के त्यस्तो बन्धन छ ?

पुनम थापा मगर
पोखरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *