आज २०९ औँ भानु जयन्ती

पोखरा। आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।

नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ।

वि.सं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं १९२५ असोज ६ गते निधन भएको थियो।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए।

यसैबीच, गण्डकी प्रदेश सरकारले भानुजयन्तीका अवसरमा आज बुधबार सार्वजनिक बिदा समेत दिएको छ। आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।

अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *