आज आमाको मुख हेर्ने दिन: श्रद्धा–भक्तिकासाथ मनाइँदै

पोखरा । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व, श्रद्धा भक्तिकासाथ मनाइँदैछ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने यस पर्व आज देशभर आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

यस्तो महत्व भएकाले आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *