आज माघे संक्रान्ति पर्व मनाइँदै

पोखरा । आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदैछ । माघ १ गतेलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यो नेपालको प्रमुख चाड मध्ये एक हो ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।

नेपालमा माघे संक्रान्तिलाई भौगोलिक, जातीय र सांस्कृतिक विविधताका कारण भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या–सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र तरिकाले मनाउने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *