आज कुसे औंसी/बुबाको मुख हेर्ने दिन/मोती जयन्ती

पोखरा । आज भाद्रकृष्ण औंसी । कुसे औंसी । भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।

आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आजका दिन बाबु नहुनेहरू भने गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ।

सनातन वैदिक हिन्दू धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु-याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

मोती जयन्ती
आजै नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि अतुलनिय योगदान पुर्याएका छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए भने नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

नेपाली भाषामा गजलको प्रारम्भ पनि यीनै महान मोतीरामले नै गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *