पोखरा। गत २४ घण्टामा देशभर थप १२५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ५११ जना महिला र ७४४ जना पुरुष गरी १२५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४०४ जना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । यो कुल संक्रमितको ९१.६ प्रतिशत हो ।
यसैगरी गत २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४७९ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
हाल नेपालमा १७ हजार ९०९ सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा रहनेको संख्या ६३२ रहेको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण भएको छ भने हालसम्म १७ लाख २७ हजार ८३६ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।