पोखरा । नेपाली मुक्तकको उत्थानका लागि क्रियाशील संस्था मुक्तक मञ्च, पोखराले बिद्यालयदेखि विश्वविद्यालय तहको पाठ्यक्रममा मुक्तक समावेश गरिनुपर्छ भन्दै सञ्चालन गरेको कार्यक्रम ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ ले सोमबार दवाबमुलक मुक्तक वाचन कार्यक्रम सहित पृथ्वीनारायण क्याम्पसको नेपाली विभाग प्रमुख मार्फत पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयलाई ज्ञापन–पत्र बुझाएको छ ।
ज्ञापन–पत्र बुझ्दै नेपाली विभाग प्रमुख प्रा डा कुसुमाकर न्यौपानेले यो महत्वपूर्ण विषयबारे मुक्तक मञ्चले ध्यानाकर्षण गराईदिएकोमा आभार व्यक्त गरे । उनले भने– ‘मुक्तक छोटो, प्रभावकारी र निकै लोक प्रिय बिधा रहेता पनि यो केही हाम्रा कमजोरीहरुका कारण पाठ्यक्रममा छुटेको हुन सक्छ । मुक्तक मञ्चले यसरी हाम्रो ध्यानाकर्षण गराईदिएकोमा हामी आभारी छौँ । अवस्य पनि अबको पाठ्यक्रम तयार गर्दा यो बिधा नछुट्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’ उनले आफु पनि मुक्तक प्रेमी रहेको बताए ।
पछिल्लो समय साहित्यका विभिन्न विधाहरुलाई विभिन्न तहका पाठ्यक्रम र पठ्यपुस्तकमा समावेश गरी अध्ययन र अध्यापन गरिँदै आएको भएपनि मुक्तक विधालाई पाठ्यक्रममा समावेश गरी अध्ययनरअध्यापन गराउने गरिएको छैन ।
अभियानका संयोजक तथा मुक्तक मञ्च, पोखराका अध्यक्ष रामजी प्रसाद आचार्य भने ‘नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमी माझ जुन लोकप्रियता पाएको छ, औपचारिक अध्ययन र अध्यापनमा भने यसले त्यति महत्व नपाएको महसुस हामीले गरेका छौँ ।’
‘काव्यको लघुतम विधाका रुपमा सामान्य चिनारी सहित पाठ्यक्रममा समावेश गरिएको भए पनि मुक्तककै सिद्धान्त तथा मुक्तकलाई भने समावेश नगरिएको अवस्थामा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा क्रमशः मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस् भन्ने हेतुले मुक्तक मञ्च, पोखराद्वारा चरणबद्ध रुपमा यो अभियानलाई अघि बढाएको सर्वविदितै छ । आफ्नो अभियानलाई प्रभावकारी तुल्याउनका निम्ति पछिल्लो समय दवाबमुलक कार्यक्रमलाई सम्बन्धित निकायमा पुर्याउन नियमित कार्यक्रम गरेको सचिव नविन भण्डारी बताएका थिए ।
मुक्तक मञ्च पोखराको ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ले सोमबार पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख न्यौपानेलाई ज्ञापन–पत्र बुझाएपछि लक्ष्मण थापाले कुनै पनि तहको पाठ्यक्रममा मुक्तक पढ्न नपाएकोले यसका सैद्धान्तिक पक्षहरुमा हरेका बुझाइ आ–आफ्नै रहेको जिकिर गरे ।
कार्यक्रममा मुक्तक मञ्च पोखराका सल्लाहकार लक्ष्मण थापा, प्राञ्जल एवं अभियानका सचिव नविन भण्डारी, मञ्चका सचिव श्रीराम अधिकारी गोर्जे, हिरा अधिकारी विकास गौतम अर्चुल, नवराज पौडेल, राजेन्द्र बि क, सुवास पौडेल, सुरेन्द्र बि.क, मनिषा पौडेल, सौगात तिमिल्सिना, रामकुमार श्रेष्ठलगायतले मुक्तक वाचन गरेका थिए ।