आज ३८ औँ मगर दिवस, तनहुँको म्याग्दे गाउँपालिकामा सार्वजनिक विदा

पोखरा, १५ फागुन । आज फागुन १५ । राष्ट्रिय मगर दिवस अर्थात मगर एकताका दिवस । नेपाल मगर संघ तथा मगर समुदायले आज (बिहीबार) ३८ औँ मगर दिवस मनाउँदैछन् ।
पोखरालगायत देश विदेशमा रहेका मगर संघ तथा समुदायले विभिन्न कार्यक्रमका साथ मगर समुदायको भेषभुषा, ¥याली तथा झाँकी प्रदर्शन गरि मनाउँदै छन् ।

समानता, सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा र्पुयाउने उद्देश्यले २०३९ फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो।

२०३९ साल फागुन १५ गते नेपाल लाङघालि परिवार संघको प्रथम अधिबेसन सम्पन्न भएको सम्झनामा मनाउन थालिएको लाङघालि दिवस को दिनलाई नै २०४० सालबाट नेपाल मगर संघ तथा अन्य मगर समुदाय सम्बन्धी संघ संस्थाहरुले ‘मगर दिवस’ को रुपमा मनाउँदै आएका छन् ।

नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबभन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नो पहिचान छ । जसले नेपालको आर्थिक राजनीतिक, तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुराउंदै आएको छ ।

मगर दिवसमा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।

आज गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् । वि.सं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।

कूल २२ हजार ५ सय २ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १ सय ७५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *